‘अखण्ड भारत’को नक्सामा भारतीय विदेशमन्त्रीको धारणा,यो राजनीतिक विषय होइन

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशङ्करले‘अखण्ड भारत’नक्साको विषय राजनीतिक विषय नभएको बताउनु भएको छ। उहाँले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताउनु भएको हो।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा यस विषयमा कुरा उठिरहेका बेला उहाँको यस्तो अभिव्यक्ति आएको हो।

नक्साका सम्बन्धमा यसअघि आफ्नो मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको बताउँदै विदेशमन्त्री जयशङ्करले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत उल्लेख गर्नु भएको छ।

उहाँले छिमेकी देशहरूलाई स्पष्टीकरण चाहियो भने त्यो ठूलो कुरा नभएको पनि धारणा व्यक्त गर्नुभयो। भारतमा जेठ १४ गते आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा‘अखण्ड भारत’को नक्सा भित्तामा अङ्कित गरिएको छ।

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ।