काठमाडौं। गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ। गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ। एक जना अझै बेपत्ता छन्।
सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएपछि गाडी र त्यसमा सवार दुई जनाको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा (डीएसपी) चिरन्जीवी दाहालले भने, ’गाडीमा दुईवटा शव भेटिएको छ। शवको पहिचान हुन बाँकी छ। एक जनाको शव खोज्ने कार्य जारी छ,’।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो।
दुर्घटनामा सीटीईभीटी का प्रशासन निर्देशक भानु नगरपालिका–९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका–५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए।