पहिलो गैरआवासीय नेपाली नागरिकता शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड तयार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई गैरआवासीय नेपाली संघ एनआरएनएले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा धन्यवाद ज्ञापन गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूंजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वास व्यक्त गरे।
गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धीको कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुर्याउन आग्रह गरे ।

साथै एनआरएनएले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत संबोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरेको छ। भेटका क्रममा उपाध्यक्ष शर्माले साना साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लिन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गरे ।

संघका उपाध्यक्ष शर्माले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद पत्र हस्तान्तरण गर्दै विदेशमा रहेका लाखौ नेपालीको मागको संवोधन भएकोमा लाखौं नेपाली खुशी भएको बताए।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ मार्फत धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो समय र रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताए । उनले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत संबोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिदै छिटै कार्यान्वयनमा आउने जानकारी दिए ।

उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र अव नेपालका लागि केही गर्ने समय आएको बताए।

सोही अवसरमा पोर्चुगल, माल्टा र इराकमा यथासक्य छिटो दूतावास स्थापना गरी त्यहां रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमंडलले ध्यानकर्षणपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।