एजेन्सी। भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ।भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो।
त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए। आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन्।
दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको बताइएको छ। भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् ।
मन्त्री वैष्णवले ट्वीटरमा ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै उनले सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन्।
उनले उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि घोषणा गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।