प्रधानमन्त्री प्रचण्डले आज मोदीसँग भेटवार्ता गर्दै

काठमाडौँ। चार दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।

लगत्तै सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। त्यसअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ। प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन्। शुक्रबार भने प्रधानमन्त्री मध्यप्रदेश जानेछन् भने शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम बनाइएको छ।

हिजो प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता गरेका थिए। प्रधानमन्त्री बनेको ५ महिनापछि भारत भ्रमणमा निस्किएका प्रचण्डलाई बुधबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी बसेको सरदार पटेलमार्गस्थित होटल मौर्यमै डोभाल भेटका लागि पुगेका थिए।

डोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्। उनीसँगको भेटवार्तामा विदेश सचिव विनयमोहन क्वात्रा पनि सँगसँगै थिए। यसअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा स्वागत गरिएको थियो। प्रचण्डलाई राज्यमन्त्री तहबाट स्वागत भएको भन्दै नेपालमा कतिपयले आलोचना समेत गरेका छन्।