काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन्। चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन्। भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल र भारतबीच भौगोलिक र सांस्कृतिक सामीप्यले सदियौँदेखि जनस्तरमा रहेको हाम्रो सम्बन्ध सधैँ मित्रवत् र घनिष्ठ रहँदै आएको छ । समय समयमा हुने उच्चस्तरीय आदानप्रदानले समय सापेक्ष रूपमा सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउँछ ।’
प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग आफ्नो वार्ता हुने कार्यक्रम तय भएको र सो क्रममा केही सम्झौताहरूमा हस्ताक्षर हुने जानकारी दिए । बिहीबार नै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट हुने उनको भनाई थियो । त्यस्तै, प्रतिष्ठित व्यापारी÷लगानीकर्तासँग अन्तरक्रिया र केही महत्त्वपूर्ण परियोजना अनुगमन गर्ने पनि बताए ।