सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

राजश्व संकलन उच्च दरमा घटेका कारण स्रोत जुटाउने दबावमा परेका अर्थमन्त्री महतले १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गर्नुभएको बुझिएको हो ।गत वर्ष सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत बजेटको साइज कटौती गरी १५ खर्ब ४९ अर्बमा सीमित गरिएको थियो।

अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारका कार्यक्रमहरु समेट्ने र स्रोत सुनिश्चित नभएका आयोजनाहरु कटौती गर्ने बुझिएको छ।यस्तै,विभिन्न नामका समितिहरु पनि खारेज हुने संभावना रहेको छ। ठूला परियोजनाहरु नथपिने भएका छन् । यस्तै, केही संस्थानहरुको निजीकरण तथा मर्जको कार्यक्रम पनि आउने बुझिएको छ ।

सदा झैं मदिरा र सूर्तिजन्य पदार्थको कर बढ्ने पक्का छ भने यस पटक विद्युतीय सवारीमा पनि करको बोझ थपिने र कर्मचारीको तलब नबढ्ने र सामाजिक सुरक्षा भत्ता पनि नबढ्ने बुझिएको छ ।