काठमाडौं:सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान शनिबार लिने भएको छ।बिहीबार समातिएका भुटानी शरणार्थी नेता नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँको आज बयान हुने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिएका हुन्।
अदालतमा मुद्दा दायर गर्नुपर्ने समय थोरै भएका कारण आज शनिबार पनि बयान लिन लागेको न्यौपानेले बताए। ‘आज ५७ दिन पुगिसक्यो। मंगलबारसम्म हामीले मुद्दा दर्ता गरिसक्नुपर्छ’, न्यौपानेले भने, ‘त्यसैले आज बाँकी दुई जनाको बयान लिन लागेका हौँ।’
संगठित अपराधका आरोपितविरुद्ध ६० दिनभित्र अनुसन्धान सकेर अभियोजन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सरकारी वकिल कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान प्रतिवेदन बुझाउन ताकेता गरे पनि अभियुक्त प्रक्राउ पर्ने क्रम जारी रहेकाले ढिलाइ भएको हो। प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ।
शनिबार दुईजनाको बयान सकेपछि भोलि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए। पक्राउ परेकाहरूविरुद्ध संगठित अपराध, ठगी,किर्ते लगायतका कसूरमा मुद्दा दर्ता गर्ने रायसहित प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ।