भारतमा दुई हजारको नोटलाई बजारबाटै हटाउने निर्णय

एजेन्सी। भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ। तर,नोटलाई अमान्य भने घोषणा गरिएको छैन् ।

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको हो। देशैभरको कुनैपनि बैंकमा गएर नोटलाई बदल्न पाउने सूचनामा उल्लेख छ।

त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको छ। यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ। एक पटकमा १० वटा दुई हजारको नोट अर्थात २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ।

भारतीय रिजर्भ बैंकले अन्य बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ। रिजर्भ बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो। ८ नोभेम्बर २०१६ को रातिबाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो।

सन् २०१८ र १९ पछि उक्त नोट छाप्न बन्द गरिएको थियो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालेको थियो ।