नारायणी नदीमा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका–२, नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२, कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

नारायणीपारि चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरूलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैजनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।