काठमाडौं । नेपालका केही मेनपावर व्यवसायीहरुको मिलेमतोमा साउदी भिसा सेन्टर सञ्चालन हुन लागेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर आपत्ति जनाएको छ । भिसा सेन्टरको नाममा केही मेनपावर व्यवसायी लागिरहेको बेला संघले गम्भीर आपत्ति जनाएको हो। साउदी दूतावासले मे ८, २०२३ मा परराष्ट्र मन्त्रालयलाई भिसा सेन्टरका बारेमा पत्र पठाएको छ।
दूतावासले साउदीका सबै प्रकारका भिसा तथा यात्रासम्बन्धी कामका लागि अनुमति मागेको थियो । त्यही आधारमा परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय र संघलाई पनि पत्र पठाएको थियो । साउदी भिसा सेन्टर खोल्ने विषयमा वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर आपत्ति जनाउदै विज्ञप्तिसमेत जारी गरेको छ । केही मेनपावर व्यवसायीको मिलेमतोमा खोल्न लागिएको साउदी भिसा सेन्टर कुनै पनि हालतमा संचालन हुन नदिने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
उनले यसमा संघको कडा आपत्ति रहेको जनाउँदै आफ्नो आवाज नसुनिए कडा आन्दोलनमा उत्रने बताए । भिसा सेन्टरका लागि भनेर भिएफएस ग्लोबल सर्भिसेज भन्ने संस्था कम्पनी रजिस्टार कार्यालयमा दर्तासमेत गरेको पाइएको छ ।यो सिण्डिकेट जसरी पनि तोडिने संघले दावी गरेको छ । हाल राजनीतिक पहुँच र आर्थिक चलखेल गर्न सक्ने केही मेनपावर व्यवसायीले हालीमुहाली गर्दै सिण्डिकेटको कोशिस गरेका छन् । व्यवसायीलाई सिण्डिकेट लाद्न खोजिएपछि उक्त कार्यप्रति मेनपावर व्यवसायीहरू चिन्तित बनेका छन ।
केही मेनपावर व्यवसायीहरूले सम्बन्धित देशले गर्दै आएको काम आफैं गर्ने कोसिसमा लागेका हुन । साउदीसङ्गै युएईको भिसा सेन्टर नेपालमा स्थापना गर्न केही व्यवसायीहरू नै सक्रिय छन् ।त्यस्तै युएईकै द सेक्युरिटी इन्ड्रस्टी रेगुलरटी एजेन्सी (सिरा) लाई समेत नेपालमा ल्याउन खोजिरहेका छन् । उनीहरू नेपालमा आउनु त राम्रो हो तर, त्यसका लागि सीमित मेनपावर व्यवसायी लाग्नुले सिण्डिकेट भित्र्याउने खेल भएको व्यवसायीहरूको बुझाई छ ।
डिपिएस ट्रेनिङ (डिपार्टम्यानट प्रोटेक्टिभ सिस्टम) दिने कम्पनीले गर्दै आएको काम नेपालमा ल्याउन खोजिरहेको र त्यस्तो गरेपछि उनीहरूले नेपालमा आफ्नो एकाधिकार लाद्ने र श्रमिकहरूलाई पैसा असुल्ने योजना बनाएका छन् । सेरा कम्पनीले नेपालबाट गएका श्रमिकहरूलाई दुबईमा पुगेर तालिम दिने र त्यही प्रमाणपत्र दिने गर्दै आएको छ ।नेपालले जतिसक्दो कम लागतमा कामदार पठाउनुपर्ने भन्ने मान्यता रहेको तर सीमित स्वार्थमा लागेका व्यवसायीहरू बढी पैसा असुल्ने धन्दामा लाग्न थालेको मेनपावर ब्यावसायीको आरोप छ ।
त्यस्तै केही व्यवसायीहरूले साउदी भिसा सेन्टर खोल्नसमेत दौडधुप बाक्लो बनाएका छन । नेपालस्थित साउदी दूतावास र केही व्यवसायीको मिलेमतोमा जाउलाखेलमा साउदी भिसा सेन्टर खोल्न लागिएको छ । त्यसका लागि केही मेनपावर व्यवसायीहरू अहोरात्र खटिएका छन ।साउदीको भिसा सेन्टर केही महिना अगाडि बंगलादेशमा पनि खुलेको थियो । तर, व्यवसायीको आन्दोलनपछि तत्काल बन्द भएको थियो । साउदी सरकारको कुनै अनुमति बिना नै उक्त भिसा सेन्टर खोलिएको थियो ।
त्यसपछि व्यवसायीले चर्को आन्दोलन गरेपछि बन्द भएको थियो । भिसा सेन्टरको नाममा कलेक्सन सेन्टर खोल्ने र डकुमेन्ट तथा पासपोर्ट सङ्कलन गर्ने गरी कार्य अगाडि बढाउन खोजेका हुन । त्यसका लागि उनीहरूले प्रति कामदार ३ हजार रुपैयाँ अतिरिक्त शुल्क तोक्ने गृहकार्यमा छन् । नेपालस्थित साउदी अरेबियाको दूतावासले भीएफएस प्रणालीबाट भिसा प्रदान गरेर सेवा प्रवाह गर्ने विषयमा व्यवसायीहरूसँग छलफल अगाडि बढाएको थियो । नेपाली व्यवसायीहरूले एकलौटी रूपमा कलेक्सन सेन्टर खोल्न लबिङ गरिरहेका बेला दूतावासले भीएफएस प्रणालीबाट सेवा प्रवाह गर्ने विषयमा छलफल थालेको छ ।
यसबारे नेपालका लागि साउदी राजदूत साद अबुहैमेद र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलबीच दूतावासमा छलफल भएको थियो । छलफलमा राजदूत अबुहैमेदले साउदी सरकारले पनि निकट भविष्यमा भीएफएस प्रणालीबाट भिसा प्रोसेसिङ गर्ने गरी तयारी गरेको बताएका थिए । छलफलमा राजदूत अबुहैमेदसँग व्यवसायीले सिण्डिकेटको विषयसमेत उठान गरेका थिए । तर, त्यसमा उनले व्यवसायीको चिन्ता र चासोबारे जानकार रहेको भन्दै भीएफएस प्रणालीमा कुनैपनि नेपाली व्यवसायी र नेपाली कर्मचारीको संलग्नता नरहने र पूर्ण रूपमा साउदी सरकारको नियन्त्रणमा रहने प्रष्ट पारेका थिए ।
साथै, भिसा प्रोसेसिङ शुल्कको हकमा नेपालमा रहेका युरोपेली मुलुकका भीएफएस प्रणाली सरह सेवा शुल्क लिने उनले जनाएका थिए । केही व्यवसायीहरूले साउदी र मलेसियाको स्वास्थ परीक्षण गराउने स्वास्थ्य संस्थाहरूमा समेत सिण्डिकेट कायम गरेका छन्। तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीमा देखिएको सिण्डिकेटका विरुद्धमा सक्रिय भएर लागेका थिए । मेनपावर व्यवसायीहरूले विगतदेखि नै यो क्षेत्रमा हुने गरेको विभिन्नखाले सिण्डिकेटको अन्त्य हुनुपर्ने माग राख्दै आएका छन् ।