काठमाडौं । कवि देवकी अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ लोकार्पण भएको छ ।ग्रामीण भेगका गरिब तथा जेहेन्दार बालबालिकाको शैक्षिक सहयोगार्थ परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए क्यालिफोर्नियाले प्रकाशन गरेको अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ लोकार्पण गरिएको हो । उर्वरा फाउण्डेसन नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक समारोहकाबीच लोकार्पण कार्यक्रम गरिएको हो ।
समारोहका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पहिला कविता व्यक्तिगत शोखका लागि लेखिने गरेपनि अबको कविता समाज उत्खनन् गर्ने माध्यम हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै लेखक तथा समालोचक राजकुमार बानियाँले अभिलाषीको ‘आदिवासी भोक’ कवितामा छोटा कविता रहेको र ति निकै प्रभावकारी रहेका बताउनु भयो ।
अभिलाषीको यस कविता संग्रहका ४२ वटा कवितामा महिला स्वतन्त्र, सहर, समाजमा घटेका घटनालाई कविता मार्फत शसक्त हस्तक्षेप गर्न सकेको लेखक तथा समालोचक लामाले बताउनु भयो । एनआरएनए क्यालिफोर्निया, अमेरिकाले अभिलाषीको यो कविताकृति ग्रामीण भेगका गरिब तथा जेहेन्दार बालबालिकाको शैक्षिक सहयोगार्थको प्रकाशनमा ल्याएको हो ।
संस्थाका अध्यक्ष एवम् समाजसेवी मरासिनीले नेपालको स्वास्थ, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्नुको साथै अन्तर्राष्ट्रिय शिक्षा, स्वास्थ तथा पत्रकारिता पुरस्कार वितरण गर्दै आउनुभएको छ । कवि अभिलाषीले आफ्नो कविताकृति ‘आदिवासी भोक’ प्रकाशन गर्ने एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाका अध्यक्ष एवम् समाजसेवी माधव मरासिनीप्रति विशेष आभार व्यक्त गर्नु भयो ।
लोकार्पण कार्यक्रममा कवि देवकी अभिलाषीले आफ्नो कविता कृति ‘आदिवासी भोक’ पढेर रचनात्मक सुझावको अपेक्षा गर्नु भयो । एनआरएनए क्यालिफोर्निया, अमेरिकाले प्रकाशन गरेको कवि अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ पुस्तकलाई ईन्डिगो इङ्कले वितरण गरेको छ।