एनआरएनएको १५ औं युरोप क्षेत्रीय सम्मेलनमा १४ बुँदे प्राग घोषणापत्र जारी

काठमाडौं। गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलनमा १४ बुँदे प्राग घोषणापत्र जारी गरिएको छ । चेक गणतन्त्रको राजधानीमा सम्पन्न सम्मेलनमा सो प्राग घोषणापत्र जारी गरिएको हो । १५ औ सम्मेलन समारोहमा नेपालका,मन्त्री,सांसद, पुर्वमन्त्री, राजनैतिक दलका नेता तथा प्रतिनिधीसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । सहभागिहरुले आ आफ्नो धारणा राख्ने क्रममा प्रमुख अतिथि परराष्ट्र मंत्री नारायण प्रकाश साउदले नेपालको संविधानमा उल्लेखित गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए ।

उनले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने र एनआरएनहरुका समस्यालाई कानूनी फ्रेमवर्कभित्र राखेर समाधान गरिने जनाए । नेपालमा कृषि, शिक्षा, स्वास्थ्य थप लगानी गर्न उनले आह्वान गरे। त्यस्तै प्रवासी नेपालीहरुको ज्ञान, सीप अनुभव र उद्यमशीलता नेपालको लागि उत्तिकै महत्वपूर्ण रहेको पनि उनले बताए ।

एमाले नेता सुवास नेम्वांगले नेपालको संविधान निर्माणमा गैरआवासीय नेपालीहरुको समेत भूमिका रहेको बताउंदै समयानुकूल संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए । उनले आगामी दशैँ, तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता पनि ब्यक्त गरे ।

नेकपा माओवादीका सांसद खिमलाल देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको बताए।

एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा. बद्रि केसीले गैरआवासीय नेपालीहरुका लागि छुट्टै एनआरएनए मन्त्रालयको स्थापना गरेर प्रवासी नेपालीका समस्याको समाधान गर्न नेपाल सरकारसंग माग गरे । उनले संगठनलाई विधान तथा सदस्यहरुको भावना अनुसार चलाउनु पर्नेमा जोड दिए ।

एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लगायतका बिषय सम्बोधन गर्नमा भएको ढिलाईले प्रवासका नेपालीले धेरै समस्या भोगिरहेको बताए । उनले संविधानमा उल्लेख भएको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउन नसकेकोमा दुख व्यक्त गरे। आफुहरुले दोहोरो नागरिकताको माग नछाडेको पनि उनले बताए।

सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष, संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा छलफल भएको थियो।

प्राग घोषणापत्रको पूर्ण पाठ :
गैरआवासीय नेपाली संघ १५ औँ युरोप क्षेत्रीय सम्मेलन

प्राग घोषणापत्र

५, ६ र ७ मे २०२३, चेक रिपब्लिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ यूरोप क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७, २०२३ मा भब्यरुपमा सम्पन्न भयो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश (एन पी० साउद), विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समितिहरुबीचको सञ्जालको बारेमा छलफलभयो । सम्मेलनमा राष्ट्रिय समितिको प्रतिवेदन, महिला सम्मेलन, एनआरएनहरुबिच ब्यापक एकता (मिलाप), एनआरएनए मेगा प्रोजेक्ट, नेपाल प्रबर्धन, रु १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो । विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएको उक्त सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्नानुसारको प्राग घोषणापत्र जारी गरिएको छ :

१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ८ वर्ष पछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरुको चासो रहेको नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।

२) गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनपश्चात समानान्तर गतिविधि गरिरहेका एनआरएनहरुलाई हाल भैरहेको वार्ताका माध्यमबाट मूलधारमा समाहित भई एकताको एघारौ महाधिवेशनमा सहभागी हुन योसम्मेलन हार्दिक अपिल गर्दछ ।

३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।

४) आगामी अक्टोबर ९ देखि ११, २०२३ सम्म काठमाण्डौंमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि संघको सदस्यता संघले तय गरेको एमआइएस प्रणाली (MIS System) मार्फत वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ ।

५) युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेगा प्रोजेक्टहरुलाई सफलतापूर्बक अघि बढाउनुको साथै सडक बालबालिकालाई सहयोग, पढ्दै कमाउंदै जस्ता कार्यक्रमहरु लक्षित समुदायमा शिघ्र शुरु गर्ने प्रतिबद्धता जनाउंदछ ।

६) एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पु-याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरुलाई सम्बोधन गर्दै यसमा सहभागिताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलनमार्फत प्रतिबद्धता जनाउंदछ । सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरुको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ ।

७) नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।

८) नेपाली दूतावास नभएका मुलुकहरु पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लिक लगायतका देशहरुमा नेपाली राजदूतावास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ । साथै युरोप क्षेत्र भित्रपर्ने आपत्कालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा एनआरएनए फाउण्डेसनमार्फत एक अक्षयकोष स्थापना गर्ने निर्णय गर्दछ ।

९) विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्विया लगायतका मुलुकमा भइरहेको अवैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ ।

१०) गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरुलाई हार्दिक अपिल गरिन्छ ।

११) नेपाल सरकारद्वारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएकोप्रति यो सम्मेलन नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गैरआवासिय नेपालीलाई सो कोषमा आबद्ध हुन यो सम्मेलन आह्वान गर्दछ।

१२) विश्व युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उद्देश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ। क्षेत्रिय सम्मेलन – बैठकलाई प्रभावकारी र समयानुकूल परिमार्जन गर्दै उन्नत बनाउन युवाहरुले गर्नु भएको ध्यानाकर्षणबारे यो सम्मेलन गम्भीर हुंदै महत्वका साथ ग्रहण गर्दछ ।

१३) संघको आगामी १६ औँ यूरोप क्षेत्रिय सम्मेलन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको आतिथ्यमा आगामी २०२४ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ ।

१४) अन्त्यमा, यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरु, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार,पत्रकारलगायत आयोजक राष्ट्र एनसीसी चेक रिपब्लिक सहित विश्वभरि रहनुभएका गैरआवासीय नेपाली जनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

गैरआवासीय नेपाली संघ

आइतवार, ७ मे २०२३