काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताएका छन । चेक रिपब्लिकमा जारी १५ औँ यूरोपेली क्षेत्रीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकोले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताएका हुन ।
परराष्ट्रमन्त्री साउदले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा १५÷१६ वर्षदेखि बहसको विषय बनिरहेको जनाउदै अब यसलाई सम्बोधन गर्न ढिलो भइसकको र यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारको तर्फबाट आफूले गरेको बताए ।गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै उनले संविधान सम्मानित र परिवर्तनशील रहेको बताए ।
कार्यक्रममा संसदमा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयमा नेपालका प्रमुख राजनितीक दलका अन्य नेताहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरुले गैरआवासीय नेपालीहरुका मुद्धामा एक मत जाहेर गरेका छन ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता लगायतका विषयमा नेपाली कांग्रेस सकारात्मक रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पती अधिकार, मताधिकारका विषयमा बिभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए ।
यस्तै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पुर्व सभामुख सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गरे । नेम्वाङले नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनुपर्ने जनाउदै त्यसको लागि आफुहरु सहयोग गर्न तयार रहेको बताए ।
नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदान, सम्पतिको सुरक्षा र सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रियामा बोल्दै नेकपा माओवादीका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीहरुको मागप्रति प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको बताए । उनले नेपालका राजनीतिक दलहरुलाई थप जिम्मेवारी दिन समेत गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।