काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सञ्चालन पद्धतिप्रति असन्तुष्टि व्यक्त गर्दै ’अब त अति भयो’ भनेका छन्। आइतबार ट्विट गर्दै उनले पार्टीभित्रका वातावरणलाई सांकेतिक ढंगले प्रस्तुत गरका छन्।
उनले कहिले प्रक्रिया चित्त नबुझेको, कहिले पद्धति, कति निर्णयहरू मन नपरेको र कति आफूले राखेका विषयले प्रवेश नै नपाएको उल्लेख गरेका छन्।
पार्टीभित्र सधैंजसो प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरेका थापाले आफूलाई धेरै पटक प्रतिरोध गरौँ झैँ लागेको पनि उल्लेख गरेका छन्। ’तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ’, उनले लेखेका छन्।
थापा २०७८ को कांग्रेस महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए। त्यसलाई उनले आफ्नो सीमाको रुपमा प्रस्तुत गर्न खोजेको ट्विटमा देखिन्छ। ’त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’, उनले भनेका छन्।
कांग्रेसको तर्फबाट आइतबार मात्रै एक मन्त्री सुरेन्द्रराज आचार्यले सपथ लिएका छन्। थापा लगायतका नेताहरुको अडानलाई सभापति देउवाले अर्का नेता शेखर कोइरालाको साथ लिएर बेवास्ता गरिदिएका थिए।थापा संसदीय दलको नेताका लागि देउवासँगै प्रतिस्पर्धा गरेका थिए।
संसदीय दलको नेतामा थापालाई सघाउने नेताहरुलाई देउवाले मन्त्री बनाउन नचाहेको कांग्रेसको यसअघि नै समाचारहरु सार्वजनिक भएका थिए। थापाको ट्विटको संकेत मन्त्री चयनको पछिल्लो कदमप्रति पनि हुनसक्ने आकलन गरिएको छ।