मलाई मत थपिएको हैन, जिम्मेवारी थपिएको हो, पछुतो हुन दिन्न : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्। कीर्तिमानी विश्वासका लागि चितवन २ का मतदाताप्रति नमन व्यक्दै गर्दै आज बुधबार बिहान उनले सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धता गरेका छन्।

लामिछानेले उपनिर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उल्लेख गरे।

उनले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको उल्लेख गरे। ‘चितवन २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु। चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिनुभएको छ।’

लामिछानेले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल,उम्मेदवार र तिनका नेता कार्यकर्ता समक्ष आग्रह गरेका छन्।लामिछानेले जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रष्ट पारे।

‘दलीय प्रतिस्पर्धा। तर, विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि। लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहनेछु। जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै रहने छैन।’

यस्तै उनले तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा मतदान गरि विजयी गराउने मतदाताप्रति पनि नमन व्यक्त गर्दै वाग्लेलाई पनि बधाई दिए। भने बारामा अर्को चुनावमा परिणाम निस्कीने विश्वास लिए।

‘अनेकौं प्रतिकूलता बीचको स्नेह र अभिमताका लागि बारा २ का मतदाता आभार। हाम्रा प्रतिस्पर्धी रमेशप्रसाद खरेलप्रति यसपटक व्यक्त स्नेहले अर्को अभ्यासमा परिणाम दिने छ भन्नेमा विश्वस्त छु’उनले भनेका छन्।