आईतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू, कसले के गर्न पाउँछन्

काठमाडौं। आगामी बैशाख १० आईतबार हुने प्रतिनिधि सभामा रिक्त तीन स्थानको उपनिर्वाचनको लागी मौन अवधि सुरू भएको छ। गएराति १२ बजेबाट मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा आइतवार उपनिर्वाचन हुँदैछ। हिजो अबेरसम्म दलहरु उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त थिए ।

मौन अवधिको पालना भए नभएकोबारे निर्वाचन आयोगले कडाईका साथ निगरानी गर्ने जनाएको छ।मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारले यो समयमा कुनै पनि माध्यमबाट चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् ।

यसपटक उपनिर्वाचनको उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा यसले ठूलो आकार पाएको छ ।देशको सम्पूर्ण राजनीतिक शक्ति तीन वटा निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ।

आमनिर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुन लागेको भए पनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ। सत्तारुढ दलहरूको गठबन्धन, उम्मेदवारको पृष्ठभूमि र दल अदलबदलले पैदा गरेको राजनीतिक द्वेषले उपनिर्वाचनमा रौनक थपेको छ भने त्यही कारण दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् ।