काठमाडौं। नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले शुभम् एभिएसनले फ्लाइङ स्कुलको लागि पहिलो पटक अनुमति पाएको छ। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार फ्लाइङ स्कुल संचालनका लागि शुभम् एभिएसनलाई अनुमति प्रदान गरिएको हो ।
लामो समयदेखि रोकिएको पाईलट प्रशिक्षण सम्बन्धि तालिमका लागि फ्लाइङ स्कुल स्थापना भए संगै नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने भएको छ।शुभम् एभिएसन प्रमुख क्याप्टेन जनक अधिकारीका अनुसार लामो प्रयास पछि वल्ल यो पटकको मन्त्रीपरिषदले नेपालमै पाईलट कोर्षका लागि अनुमति प्रदान गरेको छ ।
अधिकारीका अनुसार विज्ञान विषय लिई १२ कक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका नेपाली नागरिकले फ्लाइङ स्कुलमा हेलिकोप्टर र जहाजको पाइलट तालिम लिन पाउँछन् । मुलुकभित्रै फ्लाइङ स्कुल नहुँदा नेपालीहरू तालिमका लागि दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त राज्य अमेरिका जाने गरेका छन् । तालिममा करिब १ करोड रुपैयाँ र एकदेखि डेढ वर्ष समय खर्च हुने गरेको छ ।
व्यबसायिक पाईलटले समेत प्रत्येक ६,६ महिनामा सिमुलेटर तालिम अनिवार्य गर्नुपर्छ । त्यसका लागि युरोपका विभिन्न देशमा पाईलटहरुलाई पठाईने गरिएकोमा अव केहि समय भित्रै नेपालमै यस किसिमको तालिम गीता एभियसनबाट गराईने छ । यस बाट पनि सिमुलेटर तालिमका लागि विदेशिने करोडौ रुपैया राजश्व स्वदेशमै वचत हुने भएको छ ।
मन्त्रालयले ७ दिनभित्र १ लाख रुपैयाँ इजाजत दस्तुर र ‘क’ वर्गको मान्यता प्राप्त बैंकबाट १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाउन भनेको छ । बाँकी रहेका यी प्रक्रिया तत्काल सकेर छिट्टै स्कुल सञ्चालन गर्ने तयारीमा रहेको अधिकारीले बताएका छन् ।




