रवि लामिछानेविरुद्ध आज एकैदिन ४ उजुरी दर्ता, उजुरी दिने को हुन् र किन हाले?

काठमाडौं। आगामी वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानुन व्यवसायी युवराज पौडेल सफलले इमेलमार्फत दर्ता गराएका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो।

तीनमध्ये राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराउनुभएको हो।

आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन्।

आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधवार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिनुभयो। सफलको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर निर्वाचन आयोगमा पठाइने छ। उपचुनावका लागि १२ राजनीतिक दलकासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।