उपनिर्वाचनः चितवन २ मा त्रिपक्षी भिडन्त, रविलाई विरासत जोगाउनै चुनौती, खोस्ने दाउमा कांग्रेस र एमाले

काठमाडौं। आगामी बैशाख १० मा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। यी तीन क्षेत्रमध्ये सबैभन्दा बढी चितवन २ मा रोचक प्रतिपस्र्धा हुने देखिएको छ। एमालेको पकड क्षेत्र मानिएको चितवन–२ बाट गत मंसिर ४ गते भएको निर्वाचनमा पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले र कांग्रेसका उम्मेदवारको भन्दा झण्डै साढे ३ गुणा बढी मतका साथ भारी मतान्तरले हराउँदै निर्वाचित बनेका थिए।

एमालेका तत्कालीन सांसद कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजारको मतान्तरले जित हात पारेका उनी एमालेसँगको गठबन्धन बनाउँदै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीसमेत बने।गृहमन्त्री बनेका लामिछानेविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा सर्वोच्च अदालतमा रिट दायर भयो।

उनलाई विदेशी नागरिकता हुँदाहुँदै नेपाली नागरिकता लिएको र नेपाली नागरिकता लिँदा पूरा गर्नुपर्ने प्रक्रिया पालना नगरेको आरोप लागेको थियो। उक्त रिटमा संवैधानिक इजलासले फागुन २३ गते फैसला सुनाउँदै रवि नेपाली नागरिक नभएको ठहर गर्‍यो।योसँगै उनको सांसद पद गुमेपछि रिक्त हुन पुगको सो क्षेत्रमा निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गर्‍यो। सर्वोच्चको फैसलापछि पुनःनागरिकता लिएका लामिछानेले दोस्रो पटक सोमबार चितवन–२ मा उम्मेवारी दर्ता गराएका छन्।

उक्त क्षेत्रमा लामिछानेलाई रोक्न नेपाली कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको समर्थनमा जितनारायण श्रेष्ठलाई अघि सारेको छ। श्रेष्ठ चितवनका पुर्व जिल्ला सभापतिसमेत हुन् उनि चितवनवासीको सेवाका लागि आफ्नो उम्मेदवारी भएको भन्दै चितवन–२ का मतदाताले स्थानीय उम्मेदवार र सुखदुःखको साथी भएकाले आफूलाई निर्वाचित गराउने दाबी गरे।

त्यस्तै, नेकपा एमालेले यस पटक पोखरेललाई पछि हटाउँदै रामप्रसाद न्यौपानेलाई अघि सारेको छ। न्यौपाने उनै व्यक्ति हुन्, जो अघिल्लो पटक चितवन ३ मा उम्मेदवार हुन चाहेपनि अन्तिममा पार्टीले उम्मेदवारी फिर्ता लिएर राप्रपालाई सर्मथन गर्ने निर्णय गरेपछि पछि हटेका थिए। एमालेको बलियो संगठन भएकोले आफूले यस पटक जित्ने उनको दाबी छ।

यसले गर्दा अहिले चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

मनोनयन दर्ता गर्दै तीनै जना उम्मेदवारहरूले आफूले जित्ने दाबी गरेपनि कडा प्रतिस्पर्धा समेत हुने देखिन्छ। उम्मेदवारी दर्ता गराउँदै रास्वपाका सभापति

लामिछाने भावि पुस्ताको भविष्य सुरक्षित गर्न,राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न केन्द्रित हुने दाबी गर्दै यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको बताएका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि आफूले जित हात पार्ने दाबी गरे।

उनले यसपटक चितवनका जनताले सबै कुरा बुझेको भन्दै संगठनको बल र जनताको मतबाट आफू निर्वाचित हुने बताए।

समग्रमा गत मंसिरमा सम्पन्न भएको मत हेर्दा चितवन–२ मा रास्वपा नै हाबी देखिन्छ। प्रत्यक्षतर्फ लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर जित हात पारेका थिए। उनको प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९१ मत पाएका थिए। एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत पाएका थिए।

समानुपातिकको मत हेर्दा पनि रास्वपा अगाडि देखिन्छ। समानुपातिक मतमा रास्वपाले ३५ हजार ९ सय ४५ मत पाउदा एमालेले १६ हजार ७ सय ८४ मत पाएको थियो भने कांग्रेसले १२ हजार १ सय ३२ मत प्राप्त गरेको थियो। त्यस्तै, माओवादी केन्द्र ८ हजार ४ सय ७, राप्रपा ३ हजार २ सय १८ र एकीकृत समाजवादी पार्टी ६१६ मत प्राप्त गरेका थिए।