पाइलट बिरामी भएपछि काठमाडौं–दुबई उडान ११ घण्टा डिले, ५ सय यात्रु अलपत्र

काठमाडौं। पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलो भएको छ। शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायु सेवा निगमको आर ए २२९ उडान नम्बरको विमान आइतबार बिहान ११ बजे मात्र मात्र उडेको हो।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले उक्त उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेपछि विकल्पमा अर्को पाइलट समेत उपलब्ध नहुँदा उडान ११ घण्टासम्म ढिलो हुन पुगेको बताउनु भयो।

वाइडबडी उक्त विमानबाट २ सय ६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए। उनीहरुलाई राति विभिन्न होटेलमा राखेर बिहान विमानस्थल पुर्याइएको थियो। काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ करिब ५ सय ४३ यात्रु जना अलपत्र परेका थिए ।

निगम स्रोतका अनुसार दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यही विमानको उडान पनि रद्द गरिएको थियो। उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसशले निगमकै खर्चमा होटलमा राखेको जनाइएको छ।

अन्तिम समयमा यात्रुहरुले विमान नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध समेत गरेका थिए।