गृहमन्त्रीलाई एनआरएनएको प्रश्न, नागरिकता कार्यान्वयनको विषय कैले सम्बोधन हुन्छ ?

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरनए)को टोली र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ। भेटवार्तामा एनआएनएको टोलीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि भैरहेको ढिलाइबारे ध्यानाकर्षण गराएको थियो ।

भेटवार्ताका क्रममा एनआरएनको प्रतिनिधीमण्डल टोलीले विश्वभर रहेका गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा नागरिकताको बिषयलाई चाँडै सम्बोधन गर्न पुन आग्रह गरेको थियो। प्रतिनिधी मंडलले नेपालबाट पूँजी पलायन भै रहेको र विदेशी लगानी भित्र्याउन पनि वाधा पुगिरहेको सम्बन्धमा ध्यानाकर्षण गर्दै नागरिकता विधेयकलाई फेरी संसदमा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह गरेको थियो ।

भेटमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देश भित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउंदै नागरिकता विधेयकलाई छिटो भन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै पुस्तौपुस्ता नागरिकता प्राप्ति हुने व्यबस्थाको पनि प्रत्याभुति हुने व्यवस्था हुने बताउदै यस सम्बन्धमा ऐनको प्रावधानमा केहि समस्या भए हेर्ने समेत श्रेष्ठले बताए ।

प्रतिनिधिमण्डलमा संघका अध्यक्ष कुल आचार्य, डा. बद्रि केसि उपाध्यक्ष आरके शर्मा र दुर्गा आचार्य , कोषाध्यक्ष लोक प्रसाद दाहाल,कार्यकारी अधिकृत रवी किरण अधिकारीलगायत थिए। भेटका क्रममा एनआरएनए एक्टको पुनराबलोकन गर्ने सम्बन्धमा मन्त्री श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा भएको निर्देशनको समेत कार्यान्वयनको लागि ध्यानाकर्षण गराइएको अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।