किन छाडे स्वर्णिम वाग्लेले कांग्रेस, बन्ला त रास्वपा वैकल्पिक लोकतान्त्रिक शक्ति ?

काठमाण्डौ। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वाग्लेले २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभएको छ ।

उहाँले कांग्रेसमा बसेर ३० वर्षदेखि परोक्ष र गएको १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको स्मरण गर्नुभएको छ । उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउनका लागि स्वर्गीय सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर देशको मान राख्न सकेकोमा गर्व लागेको बताउनुभएको छ ।

तर पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको र जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ,भाउजु, साला,भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेकाले दल छाड्न बाध्य भएको वाग्लेले उल्लेख गर्नुभएको छ ।

उहाँले अब कांग्रेस कम्युनिस्टका असल व्यक्ति, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवम् विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुने उल्लेख गर्दै उहाँले आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने बनाउनेसमेत प्रण गर्नुभएको छ ।

आउँदो वैशाख १० गते हुने उपचुनावमा वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवारी दिने सम्भावना छ ।

यद्यपि यसबारेमा उहाँले प्रस्ट बोलिसक्नुभएको छैन ।तर रास्वपाका नेताहरु भने तनहुँ एकमा वाग्ले नै आगामी उपचुनावको उमेदवार भनेर बताईसकेका छन् ।