काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। सुजलले आज सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
आज राति अष्ट्रेलिया जान लागेका सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताउदै अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्। सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । सुजलले नेपाली राष्ट्रिय टोलीबाट ४५ खेल खेल्दै ३ गोल गरेका छन् ।
नेपालले २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टिममा थिए ।नेपालमा आयोजना भएको १३ औं सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो ।
सुजलको गत नोभेम्बरमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि अन्तिम खेल रह्यो । सुजलले २०१९ मा म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी समेत गरेका थिए।




