पोखरा विमान दुर्घटनाः जाँच आयोगको म्याद ४५ दिन थप

काठमाण्डौ। सरकारले यती एअरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।

हिजो मङ्गलवार फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

सरकारले गएको माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो।

विमान दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन भएको हो।

आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा(अवकाशप्राप्त क्याप्टेन)तथा हवाई मर्मत इन्जिनिर एकराजजङ्ग थापा हुनुहुन्छ। आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ।