काठमाडौं। उपराष्ट्रपति पदका लागी ४ जनाको उमेद्वारी दर्ता भएको छ ।आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज बर्तमान सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो ।
सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा रहनुभएको छ भने एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धले साझा उम्मेदवार तय गर्न भन्दै बिहान डाकेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले यसअघि नै राष्ट्रपतिमा खसआर्य समूहबाट पुरुष रामचन्द्र पौडेल निर्वाचित भैसकेकाले समावेशीताको सिद्दान्तअनुसार उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको थियो । तर सत्ता गठबन्धन आवद्द दलहरुले राष्ट्रपति खस आर्य समूहबाट निर्वाचित भएकाले फरक समुदायबाट पुरुषले नै उपराष्ट्रपतिमा उम्मेदवारी दिन मिल्ने जिकिर गर्दै आएका छन् ।