देशलाई संकट परेका बेला काँध थाप्ने एनआएनएप्रति सरकार किन कठोर बन्यो ? वरिष्ठ अधिवक्ता न्यौपाने

अमेरिका। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाललाई संकट परेका बेला अर्थतन्त्रलाई गैरआवासीय नेपालीले काँध थापेर सहयोग गरिरहेको बताएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको ‘नागरिकता निरन्तरता र सम्पत्ति अधिकार’ विषयको वहसको तेस्रो श्रृंखलामा वक्ताका रुपमा बोल्दै न्यौपाने यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकताको नाममा एनआरएनहरुलाई चामलसंग पिठो साट्न लगाएको आरोप लगाए। नेपालमा संकट परेका बेला विदेशमा बस्ने नेपाली मूलका मानिसहरु चाहिने, तर ती मानिसहरुलाई हामीले दोहोरो नागरिकता नदिएर विदेशी मानिसहरुलाई भने जुन कन्सेप्ट’ जुन लोकतान्त्रिक सरकारको छ, यसको पछाडिको नियत के हो भन्ने थाहा नभएको बताएका छन् ।

‘२०६३ सालले एनआरएन भन्ने नयाँ कन्सेप्ट ल्यायो । त्यो भनेको पिठो दिएर चामल साट्ने हो। तपाईंसित हिजो नेपाली दोहोरो नागरिकता थियो, त्यो हामीले रद्द गरिदियौं तर, सरकारले तपाईलाईं विदेशीको नाताले एनआरएनएको सुविधा दिन्छु भन्यो । त्यसमा कानुनी समस्या पनि रहेछ । एनआरएनएको सुविधा लिएर यहाँ बस्यो, जग्गा किन्यो, त्यो मान्छेको मृत्युपछि त्यो सम्पत्ति छोराछोरीले पाउँछन् कि पाउँदैनन् त , भोलि त्यो छोरो एनआरएनए बन्न खोजेन भने त्यो सम्पत्ति बेचेर जान पाउँछ कि पाउँदैन । त्यो पनि कानुनमा स्पष्ट छैन।‘

‘एनआरएन भनेर ठूलो उपलव्धि हासिल भयो भनेर केही हाम्रा साथीभाइहरु यो कन्सेप्टमा लाग्नुभयो । तर, त्यो एनआरएन हुनुभन्दा अगाडि सक्कली नागरिकता त्याग्नु पर्यो । कानुनले नै रद्द गरि दियो । हामीले अहिले सुन दिएर फलाम साटेका छौं । हामीसँग सुन थियो (सक्कली नागरिकता), तर गैर आवासीय नेपाली नागरिकता ऐन बनाएर सक्कली नागरिकता रद्द गरि दियौं, त्यसको साटो एनआरएनए कार्ड दियौं , त्यो भनेको एनआरएनहरुका लागि चामल दिएर पिठो साटेको जस्तै पनि हो,’

वरिष्ठ अधिवक्ता न्यौपानेले नेपाल जोगाउने र नेपाली जोगिने हो भने सार्क देशबाहेकमा बसोबास गर्ने नेपालीहरु जो बंशजको नागरिक हुन् उनीहरु लाई दोहोरो नागरिकता दिन आग्रह गरे ।