काठमाडौं ।आगामी फागुन २५ गते देशले नयाँ राष्ट्रपति पाँउदैछ। यसका लागी २ उमेद्वार पुर्वसभामुखद्वय काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग प्रतिष्पर्धामा उत्रिदै छन्। सरकारको जिम्मेवार पद सम्हालिसकेका २ अनुभवी नेताहरु यतिबेला राष्ट्राध्यक्षको लागी प्रतिष्पर्धा गर्दैछन्। खास गरेर नेपालि कांग्रेसमा पार्टिको यौटा खेमाकै नेतृत्व गरिरहेका बरिष्ठ नेता पौडेल सम्भवत अन्तीम अग्नी परिक्षामा छन् । २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका पौडेल अहिले ७८ वर्षका भए।
उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ‘ज्वालामुखी’ बोकेर उनी राजनीतिमा होमिएका हुन्।कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए पौडेलले।
पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए। जो २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता थिए। २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए। २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। २०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो। २०४४ सालमा केन्द्रीय सदस्य बने।
पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो। त्यसपछि स्थानीय विकासमन्त्री बने। कृषिमन्त्री पनि भए। २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भए। २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। २०५९ मा शान्तिमन्त्री बने। २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुगे।
माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बने। २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भए। २०६४ सालमा उनी कांग्रेस उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने।
२०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन सकेनन्। जति बेला माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका हुन्। निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले बाजी मारेका थिए।
२०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जिते। २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए। त्यही वर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। उनले २०७४ को निर्वाचन तनहुँ—१ मा हारे। यसपटक भने उनी तनहुँ—१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। पौडेलले करिब १३ वर्ष जेल जीवन बिताए।
उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। उनका श्रीमती र पाँच सन्तान छन्। पौडेलका तीन पुस्तक प्रकाशित छन्।समग्रमा आफ्नो छवी स्वच्छ नै राखेका पौडेल राजनितिमा भने धेरै हन्डर भोगेपनि अहिले राष्ट्रपतिको निर्वाचनमा सहज जित हासिलको आशावादी छन्। खास गरेर राष्ट्रपतिको निर्वाचनमा मत हाल्नका लागि संघीय संसद् र प्रदेश संसद्मा गरी १४ दलको प्रतिनिधित्व छ। त्यस्तै, थप स्वतन्त्र सांसद र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिएका सांसद पनि छन्।
संघीय संसद्मा ९९ र सात प्रदेश सभामा १७६ सांसद रहेको नेपाली कांग्रेससँग सबैभन्दा बढी मत छ। कांग्रेससँग मात्रै १६ हजार २६९ मत छ। त्यस्तै, एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग ७ हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५ मत छ। त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मत छ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरुको संख्या १८ छ। उनीहरुसँग कुल १०५० मत छ। स्वतन्त्रमध्ये केही सांसदहरु दल निकट मानिन्छन्, गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी प्रवेश गरेका छन्। तर, उनीहरुको मत स्वतन्त्र अन्तर्गत नै राखिएको छ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित तीन सांसद् छन्। उनीहरुको मत २३७ छ। तीनमध्ये एक विमला राई पौड्याल एमाले निकट र नारायण दाहाल माओवादी केन्द्र निकट हुन्। अर्का सांसद वामदेव गौतमले एमाले परित्याग गरेर थिए। यो तथ्यांक हेर्दा एमाले उमेद्वार नेम्वाङ्गको पक्षमा भन्दा पौडेलको पक्षमै बढी मत देखिन्छ, तर राष्ट्रपति निर्वाचनमा सांसदहरुलाई ह्वीप नलाग्ने हुँदा निर्वाचनमा कस्तो नतिजा आउला त्यो भने हेर्न फागुन २५ नै पर्खिनुपर्ने अबस्था छ।