काठमाडौं । आगामी फागुन २५ गते नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुदैछ । जसका लागी २ उमेद्वार पुर्वसभामुखद्वय काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग प्रतिष्पर्धामा उत्रिदै छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिएका हुन्। उनि अहिले ७० वर्षका भए । उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे। प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए। जो इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन्। त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।
उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने। त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए। २०५६ सालमा इलाम—२ बाट निर्वाचित भए।उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने। त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाले। २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए। २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने।
उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जिते। २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे। बीए र बीएल पढाइ पूरा गरेका उनी पार्टीको कानुन समिति सदस्य, संसदीय दलका उपनेता हुँदै उपाध्यक्ष बनेका छन्। उनी २०५६ सालमा सार्वजनिक लेखा समिति सभापतिसमेत चयन भएका थिए।
उनी राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसायमा (वरिष्ठ अधिवक्ता) थिए।पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए। नेम्बाङ राजकाज मुद्दामा सात महिना जेल परे। उनी प्राध्यापक संघमा पनि सक्रिय थिए। नेम्बाङ नेपाल बार एसोसिएसनका महासचिव पनि भए। राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ।
समग्रमा आफ्नो छवी स्वच्छ नै राखेका र हालसम्म सफलता हासिल गरिरहेका नेम्वाङ्ग अहिले राष्ट्रपतिको निर्वाचनमा जित हासिलका लागी भने कठिन परिस्थीतीमा छन्। राष्ट्रपतिको निर्वाचनमा मत हाल्नका लागि संघीय संसद् र प्रदेश संसद्मा गरी १४ दलको प्रतिनिधित्व छ। त्यस्तै, थप स्वतन्त्र सांसद र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिएका सांसद पनि छन्।
संघीय संसद्मा ९९ र सात प्रदेश सभामा १७६ सांसद रहेको नेपाली कांग्रेससँग सबैभन्दा बढी मत छ। कांग्रेससँग मात्रै १६ हजार २६९ मत छ। त्यस्तै, एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग ७ हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५ मत छ।
त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मत छ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरुको संख्या १८ छ। उनीहरुसँग कुल १०५० मत छ। स्वतन्त्रमध्ये केही सांसदहरु दल निकट मानिन्छन्, गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी प्रवेश गरेका छन्। तर, उनीहरुको मत स्वतन्त्र अन्तर्गत नै राखिएको छ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित तीन सांसद् छन्। उनीहरुको मत २३७ छ। तीनमध्ये एक विमला राई पौड्याल एमाले निकट र नारायण दाहाल माओवादी केन्द्र निकट हुन्। अर्का सांसद वामदेव गौतमले एमाले परित्याग गरेर थिए।
यो तथ्यांक हेर्दा नेम्वाङ्गको पक्षमा भन्दा पौडेलको पक्षमा बढी मत देखिन्छ, तर राष्ट्रपति निर्वाचनमा सांसदहरुलाई ह्वीप नलाग्ने हुँदा निर्वाचनमा कस्तो नतिजा आउला त्यो भने हेर्न पागुन २५ नै पर्खिनुपर्ने अबस्था छ।