अभिनेता पल शाह आज रिहा हुने, यस्तो छ प्रक्रिया

काठमाडौं ।
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । हिजो न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।

हिजो कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह आज रिहा हुन लागेका हुन् ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले आज रिहा हुने जानकारी दिनुभयो। शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

गतवर्ष २०७८ फागुन ११ गते एक नावालिग गायिकाले आफूलाई शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछी १५ फागुनमा शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए । सोही पुनरावेदनको फैसलामा हिजो शाहले सफाई पाएका हुन् ।