नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपाबाट पार्टीको संकल्प पत्र सार्वजनिक गरेका हुन् ।
संकल्प पत्रमा कांग्रेसले ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मूल नारा उल्लेख गरेको छ । साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ ।
संकल्प पत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बीपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए । महामन्त्री शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र तयार पारेको हो । घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो ।
पार्टी सहमहामन्त्री तथा घोषणापत्र लेखन समितिका प्रवक्ता जीवन परियारका अनुसार पुराना घोषणापत्रको रिभ्यु तथा आवश्यक विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको छ ।
अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारी लगायत विभिन्न क्षेत्रमा दखल राख्ने कांग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन् ।