२ कात्तिक, काठमाडौं । परीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि त्रिविले १५ महिनासम्म नतिजा सार्वजनिक गर्न सकेको छैन ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७८ साउनमा सञ्चालन भएको चारवर्षे बीबीएस, चार वर्षे बीए र फागुनमा सञ्चालन भएको बीएस्सी चौथो वर्षको नतिजा अझै सार्वजनिक भएको छैन ।
करिब १५ महिना हुन लाग्दा पनि कहिले नतिजा सार्वजनिक हुन्छ भनेर परीक्षा नियन्त्रण कार्यालयले भन्न सक्ने अवस्था नभएको जनाएको छ । पनिकाका सहनियन्त्रक डा. घनश्याम ठाकुर भन्छन्, ‘हामी धमाधम काम गरिरहेका छौं । सकेसम्म छिटो सार्वजनिक गर्छौं ।’ कतिपय कर्मचारीलाई डेंगु लागेको कारण थप काममा प्रभावित भएको बताउँछन् ।
त्रिवि व्यवस्थापनको कमजोरीका कारण मानसिक दबाव झेल्नु परिरहेको विद्यार्थीहरु बताउँछन् ।