बार्सिलोनामा नेपालीहरुको रौनक

बार्सिलोना । बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झझल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि नेपाली पञ्चेबाजाको धुनसहित विभिन्न भेषभूषामा सजिएका नेपालीहरुको नृत्यले विदेशीहरुको समेत ध्यान तान्यो ।

१ सय ४० वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि पर्यटकहरुको भीड लाग्ने गर्छ । चर्च हेर्न पुगेका तिनै विदेशी पर्यटकहरु आइतबार नेपाली पञ्चेबाजाको धुनमा रमाए । भूमिगत रेलमार्ग हुँदै चर्च पुगेका पर्यटकहरुलाई नेपाली पञ्चेबाजाको धुनले लोभ्याएको थियो ।

सामुदायिक विकास योजना (प्ला कमुन्तारी) सग्रादा फैमिलियाको अन्तर साँस्कृतिक कार्यक्रमअन्तर्गत एनआरएनए स्पेन र जनप्रगतिशील मञ्च स्पेनको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।