ब्राजिलियन राष्ट्रिय टोलीको जर्सी परिवर्तन?

ब्राजिलका निम्ति गौरव र विजयको प्रतीकका रूपमा रहेको रङलाई राष्ट्रपति जैर बोल्सोनारोको लिबरल पार्टीले आफ्नो राजनीतिक अभियानमा प्रयोग गरेको भन्दै बहुसंख्यक फुटबल फ्यानहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तनको अभियान चलाएका हुन्।

पाँच पटकको विश्वविजेता ब्राजिल अहिले विश्वकपमय बन्दैछ। समर्थकहरू कतारका रंगशाला जान आवश्यक प्रबन्ध मिलाइरहेका छन्। कतार जाने तयारीमा रहेकामध्ये एक हुन्, ह्युगर रमाहिओ। सन् २०१८ मा आफ्नो जन्मदिनमा उनले राष्ट्रिय टोलीको जर्सी लगाएका थिए। त्यही जर्सी यसपालिको विश्वकपमा लगाउने भन्दै उनले जतनले ह्यांगरमा झुण्ड्याएका थिए। राष्ट्रको गौरव बनेको जर्सीको रङमाथि राजनीतिकरण भएपछि त्यो जर्सी लगाउन पाइएला कि नपाइएला भन्ने बिलखबन्दमा उनी परेका छन्।

‘पहेँलो जर्सी ब्राजिलको विजयको प्रतीक थियो। त्यो पहिरिन पाउँदा गौरवको अनुभूति हुन्थ्यो। अब त हाम्रो विजयको प्रतीकमाथि पनि राजनीतिकरण भयो। म कुनै राजनीतिक दलको विचार मान्दिनँ। पहेँलो पहिरिनु अब अमुक राजनीतिक दलको विचारमा गोलबद्ध हुनुझैं भयो, त्यसैले समर्थकहरूले जर्सी परिवर्तनको माग गरिरहेका हुन्,’ ३३ वर्षीय उनले भने।

अघिल्लो महिनामात्रै राष्ट्रपति बोल्सोनारोका हजारौं समर्थक राजधानी रियो दि जेनेरियोमा पहेँलो जर्सीमा उत्रिए। ब्राजिलमा आउँदो आइतबार नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ। चुनावी अभियानका निम्ति बोल्सोनारोका हजारौं समर्थक पहेँलो जर्सीमा उत्रिएपछि राष्ट्रिय टोलीको जर्सी परिवर्तनको पक्षमा आवाज बुलन्द भइरहेको हो।

पहेँलो जर्सीको राजनीतिकरणको विपक्षमा पूर्वराष्ट्रपति लुइज इनासिलो लुआ पनि उभिएका छन्।

‘पहेँलो जर्सी वर्तमान सरकारको प्रतीक बनेकोमा निकै दु:खी छु। नागरिकलाई एकतावद्ध बनाउने यो जर्सी ब्राजिलको सार्वभौमिकताको प्रतीक हो। यसलाई खोस्नु सार्वभौमिकताको हरण हो । मलाई विश्वास छ सरकारले यो भुल सच्याउने छ,’ उनले भनेका छन्।