काठमाडौँ — बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो ।
उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ । त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ । समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर निधन भएको १० देखि १२ दिनभित्र हुने अनुमान छ । समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हलबाट एबीमा लगिने छ ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।
महारानी एलिजाबेथले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।
महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।
महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए ।
उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।