अभिनेता पल शाहलाई २ वर्षको कैद सजाय

२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल पूर्णविक्रम शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको छ । पल स्वयंमले आफू मदिरा सेवन गरेको तथा घटना भएको भनिएको दिन नाबापलका एक्लै सुत्न डराएको भनि भोलिपल्ट बेलुका एक्लै सुत्न डर लाग्छ लाग्दैन भनेर सोधपुछ गरेको स्वीकार गरेको र मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिएको भन्दै अदालतले भनेको छ, ‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५९२० मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ ९२० विपरितको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’

फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।