बैंकक(थाइल्याण्ड)–थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ एशिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । अस्तिदेखि शुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्व झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो ।
घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसंग विषेश अनुरोध गरिएको छ ।
एनआरएनएले स्थापनाकालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसदबाट पारित भएको प्रति यो सम्मेलन खुशी व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ ।
यसैगरी एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषदहरु यो सम्मेलन मार्फत प्रतिबद्धता जाहेर गर्दछ । नेपालमा बिदेशबाट पढ्न आउनेह?ले पर्यटन भिषा लिएर जानुपर्ने अबस्था भएकोले सो को अनुकुल बाताबरणको लागि बिद्यार्थी भिषाको व्यबस्थाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई बैठकले अनुरोध गरेको छ ।
यसैगरी हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तब्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन अनुरोध गरिएको छ । विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलनले अनुरोध गरिएको छ ।
संघले उद्धमशिलताको विकास गर्न विद्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो सम्मेलन सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन प्रतिबद्धता जाहेर गरेको छ ।
सम्मेलनले नेपालको प्रमुख आर्थिक स्रोत विष्रेशण (रेमिट्यान्स)लाई औपचारीक माध्यमबाट नेपाल पठाउने बाताबरण बनाउंदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वाताबरण मिलाउन नेपाल सरकार संघ बिच सहकार्य गर्ने यो सम्मेलन निर्णय गर्दछ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको बैदेशिक मुद्राको न्यूनतालाई परिपूर्ति गरी सहयोग गर्न यो सम्मेलनले अपिल गरेको छ ।
यसैगरी वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीह?लाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचलान गर्न लागिएको १० अर्बको लगानी कोष संचालनमा आवश्यक कानून यथासक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । सम्मेलनले मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्ने गरी घोषणापत्र जारी गरिएको छ ।
सम्मेलन सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवाहरुलगायत संघले लामो समय देखि पैरबी गर्दै आएका मुद्दाहरु र संघको संरचनागत सुधारको बारेमा केन्द्रीत रहेको थियो । संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी, संस्थापकहरु, संघका पदाधिकारी तथा सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरुले संघलाई आगामी दिनमा एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता जनाउनु भएको थियो ।