एनआरएनए अमेरिकाको गरिमा बचाउन भन्दै तीन जना एनआरएनले सुरु गरे शुद्धीकरण अभियान

अमेरिका । केही गैर आवासीय नेपालीहरुले एन आर एन ए अमेरिकाको वर्तमान कार्य समितिले संस्थाको हितमा भन्दा पनि अमुक व्यक्तिको पक्ष पोषणमा लागेको, नियमित र नियम सङ्गत गर्नु पर्ने काम नगरेको लगायत आरोप लगाउदै संस्थाको गरिमा बचाउन आग्रह गरेका छन ।
एनआरएन अभियानमा लागेका अमेरिका निवासी कृष्ण लामिछाने, अर्जुन बन्जाडे र तिलक के सीले एक सँयुक्त विज्ञप्ति जारी गरी सङ्घलाई अझ प्रभावकारी बनाइ आम नेपालीहरूको हितमा काम गर्ने संस्थाको रूपमा अगाडी बढाउन यो संस्थाको शुद्धीकरण अभियान सुरु गर्न लागेको जनाइएको छ ।
‘”हामीहरू सङ्घलाई अझ गरिमामय बनाउने अठोटका साथ सन् २०२१-२०२३ को कार्यकालको लागि एन आर एन ए अमेरिकाको निर्वाचनमा अध्यक्षको उम्मेदवारको रूपमा भाग लिएका थियौ र निर्वाचनको नतिजालाई आत्मसात् गरी सहयोग गरेका थियौ। तर, उक्त समितिले सबै परम्परा र मर्यादालाई कुल्चेर संस्थाको भन्दा पनि अमुक व्यक्ति को पक्ष पोषणमा लागेको, नियमित र नियम सङ्गत गर्नु पर्ने काम नगरेको कारणले एन आर एन ए आइ सी सी ले स्वतः सम्बन्धन समाप्त हुने ब्यहोरा को निर्णय गर्नु परेको, र आइ सी सी का क्षेत्रीय संयोजक ले नयाँ कार्यसमिति गठन गरी सूचना जारी गर्न परेको अवस्था सृजना भएको र अहिले सम्म पनि क्षेत्रीय संयोजकले जारी गरेको उक्त निर्णयका सम्बन्धमा आइ सी सीले केही नबोलेको अवस्था छ।” विज्ञप्तिमा भनिएको छ ।
“केही व्यक्तिहरूका कारण संस्थाको गरिमा गुम्नु हुँदैन, अस्तित्व समाप्त हुनु हुँदैन भन्नेमा हामी सचेत छौ। सङ्घलाई अझ अग्रगामी बनाइ स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन प्रणालीको व्यवस्था गरी सङ्घ प्रति जन विश्वास सृजना गर्नु पर्ने आजको आवश्यकता छ। यो संस्थाको अहिलेको अवस्था मा हामी तिनै जनाले शुद्धीकरण अभियान सुरु गर्न आवश्यकता महसुस गरेका छौ र यहाँहरू सबै जनाले यस अभियानमा सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ ।” जारी विज्ञप्तिमा भनिएको छ ।