लगानी भित्र्याउने बाटो सहज बनाईदिन गैरआवासीय नेपाली संघको माग

काठमाडौं । विदेशमा रहेका नेपालीको लगानी सहज ढंगमा भित्र्याउने व्यवस्थाका लागि गैरआवासीय नेपालीहरुले सरकार समक्ष आग्रह गरेका छन । गैरआवासीय नेपाली संघको काठमाडौमा सम्पन्न ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारमा सहभागी वक्ताहरुले मुलुकको विकास र अर्थतन्त्र मजबुद बनाउनका लागि एनआरएनको लगानी भित्र्याउन आवश्यक रहेको र यसका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
सेमिनारको ‘लगानी’ विषयक सेसनमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड र रुस–युक्रेन युद्धका कारण उत्पन्न तरलता अभावलाई पूर्ति गर्न एनआरएनको लगानी भित्र्याउन आवश्यक भैसकेको बताए । उनले बजेट र राष्ट्र बैंकले पनि वैदेशिक लगानीको भित्र्याउन सहजता थपिरहेको उल्लेख गर्दै भने –‘विदेशमा एनआरएनका साथिहरुले जहाँ जहाँ व्यवसाय गरिरहनुभएको छ, व्यवसायका लागि त्यहाँ भन्दा सहज र प्रशस्त संभावना नेपालमै बनिसकेको छ, आउनुहोस हामी सबै मिलेर नेपालमै लगानी बढाऔं’
अहिलेको तरलता अभाव र सोधान्तर घाटा जस्तो समस्यासँग नेपाली अर्थतन्त्र जुधिरहेको बताउदै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले यसको दीर्घकालिन समाधानका लागि विदेशी मुद्रा भित्र्याउन आवश्यक भएको र यो एनआरएनबाट संभव रहेको बताए । ‘विदेशी लगानी भित्र्याउन विश्वासको वातावरण बनाउन सक्नुपर्छ यसका लागि एनआरएनहरुले पहलकदमी भूमिका खेलोस, यो अवस्था नहुदासम्म एनआरएनहरु आफै लगानीका लागि अग्रसर हुनुपर्छ’ अग्रवालले भने । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले वैदेशिक लगानी कुन क्षेत्रबाट बढी भित्र्याउन सकिने सम्भावना छ त्यतातर्फ अध्ययन र छलफल थालिनुपर्ने बताए । उनले लगानी भित्र्याउनका लागि बैंकिङ सिस्टममा कुनै समस्या भए त्यसलाई समाधान गर्न एनआरएनहरुसँग छलफल गर्न सकिने पनि बताए ।
ऐनमा वैदेशिक लगानी र एनआरएनको लगानीलाई एउटै परिभाषामा समेटदा समस्या देखिएको स्वीकार्दै उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले यसलाई छुट्टाछुट्टै परिभाषित गर्ने काममा मन्त्रालय लागिसकेको जानकारी दिए । वैदेशिक लगानीको विषयमा एनआरएनएका प्रतिनिधीहरुसँग आफुले पटक पटक छलफल गरेको बताउदै उनले यसमा भएका समस्या सुर्धान र कानुनी अडचन फुकाउन पनि मन्त्रालय लागिपरेको बताए ।

सेसनका सभापतिसमेत रहेका संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले कम्तीमा १० अर्बको लगानी भित्र्याउने गरी संघले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’मार्फत काम गर्न खोजे पनि सरकारी प्रक्रियागत झन्झटको कारण अहिलेसम्म केहि गर्न नसकिएको दुखेसो पोखे । ‘अबको १–२ हप्तामा पनि यो काम अघि बढेन भने फण्डको अध्यक्षबाट राजिनामा दिन्छु’ उनले भने –‘उद्योग सचिवज्यू यही हुनुहुन्छ तपाईहरु बाटो खोलिदिनुहो हामी चाडै १० अर्ब लगानी भित्र्याउछौ ।’