खुकुरी रम उत्पादक कम्पनीले तीन वर्षमा उत्पादित फोहोर शून्यमा झार्ने

काठमाडौं। नेपालको अग्रणी मदिरा ब्राण्ड खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालि (एनडीपीएल) ले तीन वर्षभित्र उत्पादन प्रक्रियाबाट निस्कने फोहोरलाई शून्यमा झार्ने बताएको छ।

विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले यस्तो प्रतिबद्धता जाहेर गरेको हो। कम्पनीले विज्ञप्तिमार्फत भनेको छ – ‘अहिले पनि उत्पादनका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेकाले यसलाई आगामी ३ वर्षभित्रमा शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं।’

यस्तै, सन् २०३२ सम्ममा शत प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने जनाइएको छ। वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरुसँग गरिरहेको कामलाई पनि जारी राख्ने कम्पनीको भनाइ छ। वातावरणमा आफ्नो उत्पादन प्रक्रियाले पुर्‍याउन सक्ने असरतर्फ सजग हुँदै बोतलहरु पुनः प्रयोग गर्ने पनि कम्पनीले जनाएको छ। यसका लागि कम्पनीले अहिले आफ्ना उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको विज्ञप्तिमा उल्लेख छ। हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन्।

यीबाहेक कम्पनीले ग्रीन इनर्जीमा समेत काम गरिरहेको पनि कम्पनीले जनाएको छ। आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनमा ल्याइसक्ने जिकिर कम्पनीको छ। वातावरणप्रति जिम्मेवार बन्ने प्रयत्नरत देखाउन खोजेको एनडीपीएलले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा समेत काम गरिरहेको छ।