अमेरिकी संविधानले दिएको हतियार राख्ने अधिकार र यसले निम्त्याएको आतंक

टेक्सासको एक प्राथमिक विद्यालयमा मंगलबार राति एक बन्दुकधारीले १९ बालबालिकासहित २१ जनाको हत्या गरेका छन् ।

अमेरिकामा बन्दुक र यस्तै प्रकारका हतियारहरूद्वारा सामूहिक हत्याका घटनाहरू बारम्बार आइरहेका छन् । यो वर्ष मात्रै अमेरिकी विद्यालयमा गोलीकाण्डका २७ घटना भएका छन् । यसभन्दा १० दिनअघि न्यूयोर्कमा सामूहिक गोलीकाण्डको घटना भएको थियो जसमा १० जनाको मृत्यु भएको थियो ।

यस्तो अवस्थामा अमेरिकामा जहिले पनि गोली हानाहानको खबर आउँछ, अमेरिकामा यस्ता घटना किन घट्छन्, किन रोकिँदैन भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

अमेरिकासँग प्रति १०० नागरिकमा १२०।५ हतियार छन् । जबकि २०११ मा यो संख्या ८८ थियो । अमेरिकाका जनतासँग विश्वका कुनै पनि देशभन्दा धेरै हतियार छन् ।

पछिल्ला केही वर्षयता अमेरिकामा बन्दुक राख्नेको संख्यामा ठूलो वृद्धि भएको हालै आएको तथ्याङ्कले पनि देखाएको छ । एक रिपोर्ट अनुसार जनवरी २०१९ देखि अप्रिल २०२१ को बीचमा ७५ लाख अमेरिकीले पहिलो पटक बन्दुक किनेका थिए । यसको मतलब अमेरिकामा अर्को एक करोड मानिसले आफ्नो घरमा बन्दुक राखेका छन्, जसमध्ये ५० लाख बालबालिका थिए । बन्दुक किन्नेमध्ये आधा महिला थिए ।

अमेरिकामा सन् १९६८ देखि २०१७ सम्म करिब १५ लाख मानिस बन्दुकका कारण मरेको तथ्यांक रहेको छ । यो संख्या १७७५ को स्वतन्त्रता युद्ध पछि अमेरिकामा हरेक युद्धमा मारिएका सैनिकहरूको संख्या भन्दा बढी हो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)का अनुसार सन् २०२० मा मात्रै अमेरिकामा ४५ हजारभन्दा बढी मानिस बन्दुकका कारण मारिएका थिए । जसमा हत्या र आत्महत्या पनि पर्छन् । यसमा ५४ प्रतिशतले आत्महत्या गरेका थिए । सन् २०१६ मा गरिएको एक अध्ययनले हतियारसँग आत्महत्याको ठूलो सम्बन्ध रहेको देखाएको छ ।

अमेरिकामा हुने यस्ता घटनाको मुख्य कारण यहाँको बन्दुक ऐन हो । अमेरिकामा बन्दुक संस्कृतिको सम्बन्ध त्यहाँको संविधानसँग जोडिएको छ । अमेरिकामा बन्दुक राख्ने कानुनी आधार संविधानको दोस्रो संशोधनमा राखिएको छ। बन्दुक नियन्त्रण ऐन १९६८ (जिसिए) अनुसार राइफल वा ह्यान्डगन जस्ता कुनै सानो हतियार किन्नको लागि न्यूनतम उमेर कम्तिमा १८ वर्ष हुनुपर्छ ।