वीरगञ्ज महानगरपालिकामा मतगणना सकिन लाग्दा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह उनका प्रतिस्पर्धी विजयकुमार सरावगी भन्दा झण्डै दोब्बर मतले अघि छन् ।
राजेशमान सिंहले ३९ हजार ६६१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सरावगीले २० हजार २०५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले जनाएको छ ।
सरावगी एमाले र सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
२०७४ मा सरावगी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । तर, स्थानीय तह निर्वाचनअघि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक हातले टीका लगाउँदै स्वागत गरे भने अर्को हातले प्रमुख पदको उम्मेदवारको टिकट दिए ।
सिंह भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ मा उम्मेदवार थिए । त्यसबेला उनी तेस्रो भएका थिए । यस पटक भने उनी पहिले जितेका सरावगीलाई हराउँदै जित नजिक पुगेका हुन् ।