विभिन्न सामाजिक अभियान चलाउदै आएका हर्क साम्पाङ अब धरान उपमहानगरपालिकाको मेयर बनेका छन् । हर्क गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोर राईलाई पराजित गर्दै मेयर बनेका हुन् ।
खानेपानी आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन अभियन्ता हर्कलाई सर्दु जलाधार बचाउ आन्दोलनका अभियन्ताका रुपमा धरानबासीले चिन्दछन् । उनलाई अभियन्ताबाट धरानबासीले धरान उपमहानगरको नेतृत्वमा पुर्याएका छन् ।
यस निर्वाचनमा धरानमा रहेको खानेपानीको हाहाकारलाई हर्कले सप्तकोसीबाट पानी ल्याएर धरानवासीलाई खुवाउने प्रतिबद्धता जनाएका छन् । यस चुनावमा धरानमा खानेपानी सबैभन्दा ठुलो एजेण्डा रहेको स्थानीयहरुले बताएका छन् । यसैकारणले खानेपानीको चरम अभाव भोगेका धरानका मतदाताले यस पटक हर्कको लौरो रोजेका छन् ।
सामान्य भाषामा बोल्ने, साधारण व्यक्तित्व र आम जनताका समस्या बुझेका हर्कले धरानमा कांग्रेस एमालेका नेताहरुको प्रवृत्तिले धराने जनताले आफुलाई रोज्ने बताउदै आएका थिए । उनले चुनावका क्रममा मुख्यगरी दुई वटा बाचा गरेका छन् । पहिलो खानेपानी र दोस्रो विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सुधार । उनले आफुले स्मार्ट सिटि बनाउने बाचा नगर्ने भन्दै धरानलाई उत्पादनतर्फ लैजाने जसका लागि युवाहरुलाई प्रयोग गर्ने बताएका छन् ।
उनले चुनावका क्रममा धरानमा खानेपानीको समस्या समाधान गर्न नसके आफु धरानमै नबस्ने समेत दाबी गरेका छन् ।