बालेनले पाएको समर्थन: प्रमुख दलहरुलाई पुरानो प्रवृत्ती त्याग्नुपर्ने संदेश

काठमाडौँ महानगरपालिकामा ठुला दलहरुले आफ्नो जित दाबि गरिरहेको बेला स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता लिइरहेका छन् ।

मत गणना जारी रहेको अवस्था बालेनले निश्चित रुपमा जित्छन् नै भन्न त सकिन्न तर जुन अनुपातमा उनले मत पाउदै आएका छन् यसले उनले जित्ने प्रशस्त संकेत भने गरेको छ । सुरुवात देखि नै बालेनले अग्रता कायम राखेका हुन् । बालेनले पाएको मतले देशको राजनीतिमा ठुलो तरंग ल्याएको छ ।

र्यापर बालेन शाहले काठमाडौँको मेयरमा उम्मेदवारी सबैभन्दा पहिला घोषणा गरेका थिए । सामाजिक संजालको व्यापक प्रयोग, सामान्य जस्ता लाग्ने समस्याको उठान, युवाको प्रतिनिधित्व, जस्तै प्रश्नको पनि सटिक उत्तर दिने शैलीले बालेनको आकर्षण बढेको बुझ्न सकिन्छ । यति मात्र होइन उनले गरेको चुनावको प्रचार शैली अहिलेको महँगो बन्दै गएको निर्वाचनका लागि सहि विकल्प हुनसक्ने सन्देश पनि उनले दिएका छन् ।
चुनावमा पैसा खर्च नगरेर पनि कसरी उपलब्ध साधन र स्रोतको प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि बालेनको चुनावी क्याम्पेन हुनसक्छ ।

एमाले र काँग्रेसले उम्मेदवार जो भएपनि फरक पर्दैन भन्ने सोच्नु र तुलनात्मक रुपमा राम्रो उम्मेदवार दिन नसक्नु बालेनका लागि अझ सहयोगी बनेको देखिन्छ ।

अर्को अहिले सामाजिक संजालको प्रभावलाई बालेनले भरपुर उपयोग गरेको देखिन्छ । सामाजिक संजालमा प्रभाव भएका व्यक्तिहरुलाई उनले प्रयोग गरेर घर घरमा आफ्ना कुरा पुर्याएको देखिन्छ । अवस्य पनि बालेन राजनीतिमा अनुभवी होइनन् तर यस पटक काठमाडौँका मतदाताले विकल्प देखेनन् । स्थापितमा विद्यासुन्दरको अनुहार देखे भने सिर्जनामा नेपोटिजमको झझल्को ।

उनलाई युवाको मात्रै सहयोग प्राप्त हुनेमा ढुक्क देखिन्थे राजनितिक दलका उम्मेदवारहरु तर बालेनले प्राप्त गरेको मत र सहयोग देख्दा उनको समर्थनमा युवा मात्रै छन् भन्न भने पटक्कै सकिन्न ।

काठमाडौँका मतदाताले उही परम्परागत उम्मेदवार छानेर यस पटक पो केहि भईहाल्छ कि भन्ने आशामा बस्नुपर्ने थियो तर मतको प्रयोग नयाँ किसिमले गरेर दलहरुलाई नयाँ तरिकाले सोच्न संदेश दिने अठोट गरेको देख्न सकिन्छ ।
यस निर्वाचनले बालेनलाई एक व्यक्ति नभएर परिवर्तनको संवाहक बनाएको छ । उनले निर्वाचन जितिसकेका छैनन्, तर उनले अहिलेसम्म पाएको मतले प्रमुख दलहरुलाई जनता सचेत भइसकेका र दलहरुले अब आफ्नो उहि पुरानो प्रवृत्ती त्याग्नु पर्ने जानकारी भने दिएको छ ।
बालेनले यस निर्वाचनमा पाएको मतलाई काठमाडौंका जनताले ‘साइलेन्ट रिभोलुसन’ को संज्ञा दिएका छन् ।