बलात्कार आरोपीलाई सजायको माग गर्दै बालुवाटारमा प्रदर्शन

हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने माग राख्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । पीडितले नाम तोकेर घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावाद लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी युवाहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका थिए ।

बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।