भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको क्लिन स्वीप

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले क्लिन स्वीप गरेको छ । यस नगरपालिकामा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा जितेको हो ।

मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । प्रजापति र जोशी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । त्यस्तै, नेमकिपाले यस नगरपालिकाका १० वडामा जित हासिल गरेको छ ।

मेयर पदका उम्मेदवार सुनिल प्रजापतिले २९००२ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३१९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २६६७ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेमकिपाकै रजनी जोशीले २९६९५ मत पाएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी रन्जना खर्बुजाले २७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२ मत ल्याएका छन् ।