स्थानीय तह निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भएको छ । देशका अधिकाशं स्थानमा मतदान सम्पन्न भएपनि धेरै स्थानीय तहमा निर्वाचन शान्तिपुर्ण भने हुन सकेन ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित मानव अधिकार आयोगको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए । आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनको भनाई छ ।
स्थानीय तह निर्वाचनका क्रममा हिजो देशभर तीन दर्जन ठाउँमा झडपका घटना भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई ठाउँमा गोली चलाएको छ भने ५१ ठाउँमा हवाई फायर गरेको छ ।
रौतहटमा दलका कार्यकर्ताले मतपेटिका लुट्ने प्रयास गरेका छन् । सुरक्षाकर्मीले हवाईफायर गरेपछि झण्डै ३ किलोमिटर पर पुगेका उनीहरु मतपेटिका छोडेर भागेका थिए । मतपेटिका लुट्नुअघि उनीहरुले मतपेटिकामा पानी हालेका थिए । मतपत्र भिजेर काम नला्गने भएको बताईएको छ । जिल्ला निर्वाचन कार्यलयले १ र २ वडाको मतदान स्थगित गरेको छ । शुक्रबार अपराह्न ४ बजे लोसपा कार्यकर्ता र अन्य दलबीच विवाद सुरु भएको थियो । त्यसै मौकामा स्थानीयले मतपेटिका लुटेको सुरक्षा अधिकारीको भनाइ छ ।
त्यस्तै, उदयपुरको कटारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेमा शुक्रबार मतदान केन्द्र सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको हो ।
बाँकेको कोहलपुरमा एमाले र माओवादी कार्यकर्ताबीच खुकुरी हानाहान हुँदा दुई जना तथा हुम्लाको खार्पुनाथमा कांग्रेस–माओवादी र एमालेबीच झडप हुँदा १० जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् भने दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडप भएका छन् ।
यमुनामाई गाउँपालिका–१ स्थित मावि चिकना जेठरहिया ‘क’ मतदान केन्द्रमा दिउँसो विवादपछि झडप हुँदा स्थानीयले मतपेटिका तोडफोड गर्दै पानी खन्याइदिएका छन् । फर्जी मतदान गरेको विषयमा विवाद हुँदा धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र वडा कार्यालय स्थलका तीनवटा केन्द्रमा मतदान स्थगित भएको छ । त्यस्तै, दलका कार्यकर्ताबीचको विवाद नसल्टिँदा अछामका तीन मतदान केन्द्रमा शुक्रबार मतदान स्थगित भएको छ ।
मानव अधिकार आयोगले निर्वाचन शान्तिपुर्ण हुन नसकेको बताएपनि गृह मन्त्रालयले भने केहि ठाउँमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको जनाएको छ । प्रवक्ता फणीन्द्रमणि पोखरेलले केहीबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए ।
निर्वाचनपूर्व तयारीदेखि मतपरिणाम नआएसम्मका लागि फिल्ड र मतगणना स्थलमा खटिने गरी १ लाख म्यादीसहित ७० हजारभन्दा बढी सेना, ३२ हजारभन्दा बढी सशस्त्र र करिब ६५ हजार प्रहरीलाई तैनाथ भएका छन् । मतगणना स्थलमा निर्वाचन आयोगले सीसीटीभी जडान गरेर निगरानी गर्न भनिसकेको छ ।