गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरी केही क्रियाकलापहरु भईरहेको सूचनाहरु प्राप्त भएको समेत जनाएको छ ।
‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही राजनैतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी द्वन्द, विवाद तथा झैझगडाका छिटपुट घटनाहरु घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकुलका केही क्रियाकलापहरु भईरहेका सूचनाहरु प्राप्त भएका छन् ।’
निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य रहेको मन्त्रालयले जनाएको छ ।
‘यस सिलसिलामा निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता विथोल्ने तथा मतदातालाई स्वतन्त्र रुपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानून बमोजिम कारवाहीको भागीदार हुनेछन । निर्वाचनको बहानामा कानून विपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि छैन,’ मन्त्रालयले भनेको छ ।
निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन गर्न देशभर करीब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करीव ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको गृहले जनाएको छ ।
यही बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन हुन गइरहेको छ ।