स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार मध्यरातिबाट सुरु हुँदै छ ।
आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको मौन अवधि रहने छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।
मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।
सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । प्रहरी र सेनाको साइबर व्यूरोले निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी पाएको छ ।
आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।