अहिले स्थानीय तह निर्वाचनको माहोल चारैतर्फ छ । सबैको ध्यान महानगर र महानगरका उम्मेदवारमाथी छ ।
पोखरा महानगरमा गठबन्धन र एमालेबिच प्रतिस्पर्धा छ । अहिले तेस्रो दल नेकपा माओवादी केन्द्र र उही पार्टीबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनर्मोर्चाको मोर्चा कांग्रेसको नेतृत्वमा एकातिर छ भने अर्कोतर्फ अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई १३ हजारभन्दा बढी मतले हराएको एमाले छ ।
आफ्ना उम्मेद्वारलाई जिताउन दुवै पक्षले पोखरामा चुनावी सभा आयोजना गर्दैछन् । २५ वैशाखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले गठबन्धनका उम्मेद्वारको पक्षमा भोट माग्नेछन् । अमरसिंह चौरमा हुने कार्यक्रमका लागि कांग्रेसले गठबन्धनका सबैलाई निम्तो गरेको छ ।
सोही मैदानमा भोलिपल्ट २६ वैशाखमा नेकपा एमालेको चुनावी सभा छ । अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो ।
यस बर्षको स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।